School

यस ऐतिहासिक स्थलमा विक्रम संवत् १९७१ मा शिक्षा प्रेमी स्वामी नित्यानन्दले शिक्षाको महत्व देखाइ शिक्षाको महत्वप्रति चाख राख्ने व्यक्तिहरुबाट भाषा पाठशाला स्थापनाको लागि चन्दा, दान, भेटी संकलन गरेर पाठशालको स्थापना गरे । उक्त पाठशालाको नाम नै नित्यानन्द पाठशालाको नामले चिनिन थाल्यो । जसमा संस्कृत, कर्मकाण्ड, ज्योतिष र गणित विषयको मात्र पढाइ हुन्थ्यो । यसरी संस्कृत पाठशाला चलिरहेको अवस्थामा वि.सं. २००४ सालमा पोखराको विन्ध्यवासिनीको आसपासमा चलाउने गरी एउटा गान्धी शिक्षामा आधारित आधार स्कूलको कोटा पनि तत्कालीन श्री ५ को सरकारबाट पोखरामा दिइयो । त्यसलाई लिएर भक्तपुरका शिक्षक ज्ञानमान डङ्गोल पोखरा आउनु भयो तर सो स्कूललाई विन्ध्यवासिनीमा सञ्चालन गर्न दिइएन र उचित ठाउँको खोजी गर्दै जाँदा सो आधार स्कूल सञ्चालन गर्ने उपयुक्त ठाउँ पोखरा उपत्यका भरि कही पाउन नसकेपछि शिक्षक श्री ज्ञानमान डङ्गोल काठमाण्डौ फर्कने निर्णयमा पुगे । त्यसै बेला संयोगवश लामाचौर निवारी सुब्बा रणबहादुर के.सी ले के.आई.सिंह पुल पारीको चौतारीमा बसिरहेका ज्ञानमानलाई भेटेर वहाँ आफु पोखरा आउनुको कारण र फर्कनाको स्थिति बुझेपछि सु. रणबहादुरले आफ्नो घरमा लगेर पढने ठाउँको व्यवस्था र विद्यार्थी जम्मा गर्ने कार्यगरी पठन पाठन समेत सञ्चालन गर्नु भएको मा पठनपाठन सुरु भएको केही समयपछि शिक्षक ज्ञानमान विमार हुनुभयो र पाठशाला सञ्चालनले पनि गति लिन सकेन र पून: सो विद्यालय फिर्ता हुने अवस्थामा पुगेको थियो । यस्तैमा वि.सं. २००४ सालमा भाद्रको पहिलो हप्तामा बाटुलेचौर निवासी श्री मुक्तिनाथ शर्माले आधार शिक्षाको तालिम लिई पोखरामा नै विद्यालय स्थापना गर्ने गरी आउनु भयो र पाठशालाकोे सञ्चालनमा गति लिन नसकी फिर्ता हुन लागेको सो आधार स्कूललाई स्थायी रुप दिने कार्यमा लाग्नु भयो ।
यो विद्यालयलाई बाटुलेचौरमा सञ्चालन गर्न पनि कम अप्ठयारो थिएन, तथापि मुक्तिनाथ शर्माले अन्य ठाउँको खोजी गर्नु भन्दा बाटुलेचौरमा नै राख्नुपर्दछ भन्ने मान्यताले यहाँका शिक्षा प्रेमीहरुको सहयोग लिइ श्री बहादुर श्रेष्ठ र श्री ओम कुमार श्रेष्ठलाई विशेष अनुरोध गरी वहाँहरुको घर पिंढीमा आधार स्कुलको कक्षा संचालन गर्नु भयो । त्यस पछि वि.सं. २००९ साल मार्ग महिनामा कास्कीका चौबीसे अन्तिम राजा सिद्धिनारायण शाहको दरबारको भग्नावशेष भएको सार्वजनिक जग्गामा ६५ हात लामो खरको छानो भएको टहरो बनाई पठनपाठनलाई नियमितता दिईयो । स्थानीय जनताको सक्रियतामा वि.सं. २०१४ सालमा अमेरिकी मिसनमा काम गर्ने मिस्टर ब्राईसको सहयोग लिई टिनको छाना भएका पक्कि भवन निर्माण गरी मिडिल स्कुल संचालन भयो । वि.सं. २०१८ सालमा हाई स्कुलको अनुमति लिई ८ कक्षा संचालन गरेर वि.सं. २०२१ सालको प्रवेशिका परीक्षामा संलग्न भएर शतप्रतिसत नतिजा प्राप्त गर्न समेत विद्यालय सफल भयो । यस प्रकार कक्षा १० को पठनपाठन संचालन भई आएकोमा स्थानीय बुद्धिजीवि तथा शिक्षाप्रेमीहरुको दूरगामी सोच विकास भएर +२ सम्मको कक्षा संचालन गर्ने अभिप्रायले श्रोत संकलनका लागि महापुराण गर्ने निर्णय भयो । उक्त निर्णय अनुसार वि.सं. २०५७ कार्तिक २३ गतेबाट मार्ग २ गतेसम्मको सप्ताह महापुराण सम्पन्न गरी त्यसबाट उठेको रकमले भवन निर्माण गरेर वि.सं. २०५८ श्रावण १७ गतेबाट नै व्यवस्थापन संकायको कक्षा ११ शुरु भई आएको र अभिभावकको माग अनुसार हाल आएर व्यवस्थापन तथा शिक्षाशास्त्र संकाय तर्फको कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ । विन्ध्यवासिनी क्याम्पसमा वि.सं. २०६६ सालबाट विविएसको कक्षा सञ्चालन भएको छ । त्यस्तै समयको आवश्यकतालाई हृदयङगम गर्दै वि.सं. २०६६ सालबाट अङ्ग्रेजी माध्ययमको पठनपाठन शुरु भएको छ ।